समाचार

सप्तरीको रुपनगरमा आठ फिटको राष्ट्रिय झण्डा फहराइ संविधान दिवस मनाइँयो

कञ्चनरूप, ३ असोज । संविधान दिवसको अवसरमा बुधबार नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कञ्चनरूप नगर कमिटीले रूपनगर चोकमा राष्ट्रिय झण्डा फहराइ संविधान दिवस मनाएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगर चोकमा राष्ट्रिय युवा संघ कञ्चनरूप नगर कमिटी अध्यक्ष जैनुदिन मियाँको नेतृत्वमा आठ फिटको राष्ट्रिय झण्डा फहराइ संविधान दिवस मनाइएको हो ।
कार्यक्रममा झन्डा फहराउनुका साथै सबै सहभागीहरूले राष्ट्रिय झण्डासँग सेल्फी समेत लिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटाले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । उनले नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने बताए ।
कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य बसन्त मिश्र ,बच्चुलाल चौधरी ,हरिहर बस्नेत ,देवी बहादुर खत्री लगायतकाले नागरिकको हकहितमा जारी भएको संविधान सराहनीय रहेको बताए ।

राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइएको छ ।
नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको दिन मनाइने राष्ट्रिय उत्सव दिवसलाई मौलिक बनाउन राष्ट्रिय झण्डालाई विशेष महत्व दिइएको हो ।
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । राष्ट्रिय झण्डा हरेक राष्ट्रको गौरव, सम्मान तथा शान्ति र क्रान्तिको प्रतीक मानिन्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page