मधेस प्रदेश समाचार

सप्तरीमा १६ वर्षीया बालिका बलात्कार आरोपीलाई ३ वर्ष कैद, ३० हजार जरिवाना

राजविराज, ७ मंसिर । सप्तरीमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई ३ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले बुधबार जिल्लाको सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई ३ वर्ष कैद सजाय भएको हो ।
इजलासले आंशिक अभियोग दावी पुग्ने फैसला गर्दै ३ वर्ष कैद सजाय गरेको सप्तरी जिल्ला अदालतले जानकारी दिएको छ । आरोपितले ३० हजार रूपियाँ जरिवाना तिर्नुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार २ सय रूपियाँ दिनुपर्नेसमेत फैसला भएको अदालतले जनाएको छ ।
आरोपितले २०७९ चैत ११ गते शम्भुनाथ नगरपालिका–९ बसबलपुरस्थित लक्ष्मी चौधरीको आँप बगैचामा बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत २१ गते उजुरी दिएकी थिइन् ।
स्थानीयवासीका अनुसार घरपरिवारले बालिकाको विवाह अन्त गर्न खोजेपछि दुबै जना भागेर ०७९ माघ १२ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिरमा विवाह गरी साढे १ महिना भारत विहारको सुपौलमा बसेका थिए । बालिका र आरोपितले प्रेमविवाह गरी घरबाट भागेको साढे १ महिनापछि घरपरिवारले स्विकार्ने आशामा दुबै जना घर आएका थिए । गाउँमा पञ्चेती हुँदा बालिकाले आरोपितलाई छाड्न नमाने पछि दुबैलाई चैत १० गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा झिकाई अभिभावकको जिम्मा लगाइएको थियो ।
बालिका पुनः ०७९ चैत १२ गते आरोपितको घर गएर बसेकी थिइन् । सो बारे पीडित पक्षले दिएको जानकारीका आधारमा प्रहरीले आरोपितलाई झिकाए पछि आरोपित चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । सोही दिन आरोपितलाई प्रहरीले हिरासतमा राखेको थियो । पीडित पक्षले चैत २१ गते लिखित उजुरी दिए पछि चैत २१ गते जिल्ला प्रहरी कार्यालयले बलात्कारको उजुरी दर्ता ग¥यो । सोही दिन पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो ।
जिल्ला अदालतमा ०८० वैशाख १३ गते अभियोग पत्र दायर भएकोमा सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश नविनकुमार जोशीको आदेशले आरोपित वैशाख १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
अदालतले मङ्सिर ६ गते गरेको फैसलामा विवाह बदर गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page