मधेस प्रदेश शिक्षा समाचार

प्रजिअ नेतृत्वको टोलीद्वारा रूपनगर नन्दराज संग्रौला क्याम्पसको निरीक्षण तथा अवलोकन

कञ्चनरुप, १२ पुस । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको जिल्ला स्तरीय उच्चअधिकारीहरुको टोलीले बिहीवार रूपनगर नन्दराज संग्रौला क्याम्पसको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
टोलीले क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, सिकाइ उपकरण, सामाजिक तथा मनोवैज्ञानिक परिवेश लगायतका विषयमा जिल्लाका उच्च अधिकारीहरूले स्थलगत निरीक्षण गरि जानकारी लिनुभएको हो ।
टोलीमा प्रजिअ थापा, सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्य, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दीपक कुमार राय, युएन उमनका परामर्शदाता शिव कुमार राय रहनु भएको थियो । टोलीले क्याम्पसको अवलोकन पश्चात विद्यार्थी, प्राध्यापक तथा क्याम्पस सञ्चालक समितिका सदस्यहरूसँग अन्तर्क्रिया समेत गरेका छन् ।

अन्तर्क्रियाका क्रममा यो सामुदायिक क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, सिकाइ उपकरण, सामाजिक तथा मनोवैज्ञानिक परिवेश लगायतका विषयमा जिल्लाका उच्च अधिकारीहरूले जिज्ञासाको राख्नुभएको थियो । ती जिज्ञासाहरुको उत्तर दिँदै क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले क्याम्पसका सवल पक्षका साथै क्याम्पसले भोग्नु परिराखेका समस्या र अन्य विविध पक्षबारे जानकारी दिनुभयो ।
सो अवसरमा डीएसपी दीपक कुमार रायले विद्यार्थीहरूलाई साइबर अपराधका विविध पक्षबारे छोटो अभिमुखीकरण दिनुभयो र उपस्थित विद्यार्थी तथा प्राध्यापकहरूसँग सो विषयमा अन्तर्क्रिया गर्नुभयो ।
मोबाइल, कम्प्यूटर जस्ता विद्युतीय उपकरण र इन्टरनेट चलाउँदा गर्न हुने र गर्न नहुने विषयहरूका साथै इन्टरनेटमा के कस्ता काम गरेमा सजाय समेत हुनसक्छ भन्ने बारेमा डीएसपी रायले विस्तारमा जानकारी दिँदै अहिलेको विद्युतीय युगमा हामी सधैँ सचेत रहनु पर्ने आवश्यकता औँल्याउनुभयो ।
अन्तर्क्रियाको दोश्रो सत्रमा युएन उमनका परामर्शदाता शिव कुमार रायले शेयर कारोबारबारे प्रस्तुतीकरण गर्नुभयो । जान्ने हो भने शेयर कारोबार गरेर राम्रै आम्दानी गर्न सकिने बताउँदै उहाँले शेयर बजारका विविध पक्षबारे परिचयात्मक जानकारी दिनुभयो । शेयर बजारमा खेलेर कसरी पैसा कमाउने भन्ने सिक्न यस्तो छोटो कार्यक्रममा सकिन्न । रूचि राख्नेहरूसँग समय मिलाएर पछि म फेरि आउँछु, अनि अझ धेरै सिकेर काम थालौँला, भन्दै उहाँले शेयर कारोबारप्रति रूचि जगाउने शैलीमा प्रस्तुति दिनुभएको थियो ।
झण्डै तीन घण्टा चलेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले भूमण्डलीकरण र प्रविधिको विकाससँगै हाम्रो सामाजिक परिवेश जटील बन्दै गएको धारणा राख्दै हरेक पक्षमा हामी सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थीहरूलाई हौसला दिँदै एसपी बज्राचार्यले तपाईँ युवाहरूले अब राष्ट्र र समाजलाई सही दिशातर्फ डोर्‍याउनु पर्छ, भन्दै आग्रह गर्नुभयो । युवाहरू लागू पदार्थ जस्ता कूलतमा नलागेर असल नागरिक बन्न अध्ययनमा मिहिनेत गर्नुपर्ने उहाँको जोड थियो ।
क्याम्पस सञ्चालक समितिका सदस्य कञ्चनरूप नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष देवी वहादुर खत्री लगायत समितिका सदस्यहरू सरस्वती निरौला, हेम प्रसाद अधिकारी, प्रमोद कुमार मण्डल र वौद्ध कृष्णलाल कर्णको उपस्थिति रहेको सो कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको समेत सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page