अर्थतन्त्र समाचार

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै कञ्चनरुपको धारापानी पर्यटकिय क्षेत्र

कञ्चनरुप, १६ पुष । सप्तरीको धारापानी पर्यटकिय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । कञ्चनरुप नगरपालिका १२ धरमपुरस्थित धारापानी पर्यटकिय क्षेत्र एकान्त र रमणीय वातावरणका कारण बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो ।
पूर्व पश्चिम लोकमार्गको सिमरा चौकबाट १ किलोमिटर उत्तर चुरे जंगलको फेदीमा रहेको धर्मेश्वर महादेव धारापानी पर्यटकीय क्षेत्रमा चारैतिर हरियाली वन, कहिल्यै नसुक्ने धारा, धर्मेश्वर महादेवको मन्दिर, तिरतिरे धारा, परेवा भिर, सहलेश पिडिया, कुन्तामाई थान, दोभान, पिक्निक स्पोर्ट, पार्क र सामुदायिक भवन रहेका छन् ।

पुरातत्व विभागले निमार्ण गरिदिएको धर्मेश्वर महादेवको मन्दिरले गर्दा पनि त्यस ठाउँको आकर्षण बढेर गएको हो । यो क्षेत्र पिकनिक स्पोर्ट सँगै पर्यटकीयस्थलको रूपमा विकास हुँदै गएको छ ।
यस पर्यटन क्षेत्रमा दसैंतिहार सकिएलगत्तै वनभोज खानेको लर्को लाग्ने यो क्षेत्र पुस, माघ महिनामा भरिभराउ हुने गर्छ । अंग्रेजी पात्रोको नयाँ वर्ष सोमबारका दिन जनवरी १ मा २ सय ७५ ग्रुप वनभोज खान आएको सुन्दरी धारापानी सामुदायिक वनका अध्यक्ष ओम नारायण प्रमाणीले बताउनु भयो । शुक्रबारदेखि सोमबारसम्म ७ सय ग्रुप यस क्षेत्रमा वनभोज खान आएको प्रमाणिले जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रभित्र २४ सैं घण्टा पानी आउने प्राकृतिक धारा, तिरतिरे धारा, महादेव मन्दिर, १२ फिट अग्लो हनुमानको मूर्ति ,परेवा भिर, दोभान, हरिन दह, सलहेस पीडिया, सोली घोप्टे, सुवाखोरी, शिकारी बाबाको थान, सन्सारी थान, कुन्तामाई थान र हरियाली जंगल रहेका कारणले गर्दा यहाँ आउने पर्यटक रमाउँछन् ।
कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त मिश्रले पर्यटकको लागि वनभोज खान र घुम्नका लागि धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्र अति नै राम्रो ठाउँ भएकाले पनि यस ठाउँमा आन्तरिक तथा वाह्य पर्यटकहरुको धुँइचो लाग्ने गरेको बताउनु भयो । रमणीय र शान्त ठाउँ भएकाले पनि आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाइमा परेको उहाँले बताउनु भयो ।
आफू नगर प्रमुख हुँदा पर्यटन क्षेत्र भित्र सामुदायिक भवन, हनुमानको मन्दिर, शौचालयको निर्माण गरेको उहाँले बताउनु भयो । जनवरी १ का दिन यस ठाउँमा व्यापक रुपया वनभोज खान पर्यटकहरु आउने भएकाले उनीहरुलाई कुनै समस्या नहोस भनेर आफू स्वयम उपस्थित भई अनुगम र निरिक्षण गरी रहेको छु उहाँले भन्नुभयो, राज्यले यस ठाउँमा लगानी गर्ने हो भने नेपालकै नमुना पर्यटन क्षेत्र बन्ने कुरा मिश्रले बताउनु भयो ।

प्राविधिक समस्याले गर्दा यस पर्यटन क्षेत्रलाई सोचे अनुसारको व्यवस्था गर्न सकिराखेका छैनौँ, यस क्षेत्रलाई नमुना पर्यटन क्षेत्र बनाउने अभियानमा हामी लागिरहेका छौँ १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनुभयो । उक्त क्षेत्रको उत्तरतर्फ रहेको हरियाली जंगल, प्राकृतिक धारा र खोलाले थप सुन्दरता थपेको वडा अध्यक्ष खत्री बताउनु हुन्छ ।
हरियाली वन, धर्मेश्वर महादेवको मन्दिर, हनुमान मन्दिर, प्राकृतिक धारा, परेवा भिर, दोभान, सहलेश पिडिया, कुन्ता माइ थान, हरिण दह, तिरतिरे धारा जस्ता रमणीय ठाउँ भएकाले पनि यस ठाउँमा वनभोज खाने पर्यटकहरुको घुँइचो लाग्ने गरेको समाजसेवी हर्ख नारायण चौधरीले बताउनु भयो ।
झैंझगडा नहोस भनेर नेपाल प्रहरी र नगर प्रहरीले शान्ति सुरक्षा गरेको र रुपनगर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य शिविर राखी सेवा प्रदान गरेको धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्रका अध्यक्ष लिल बहादुर मगर (सोम) ले बताउनु भयो ।

दशैं तिहार सकिएसँगै फागुन महिनासम्म बढी मात्रामा आन्तरीक तथा बाह्य पर्यटकहरु यस ठाउँमा वनभोज खान आउँने गरेको अध्यक्ष मगर बताउनु हुन्छ । अरुबेलामा पनि धर्मेश्वर महादेव मन्दिरको दर्शन, फोटो खिच्न, टिकटक बनाउन आउने तथा रमणीय ठाउँ घुम्न आउने गरेको मगरले जानकारी दिनुभयो ।
सुविधा सम्पन्न, रमणीय ठाउँ भएकाले विगत पाँच वर्षदेखि वनभोज खान आउने गरेको भारत वीरपुरका रञ्जीत सिंहले बताउनु भयो । भारत अररियाका सोनु सिंह पनि लोभलाग्दो प्राकृतिक दृष्यकै कारण विगत छ वर्षदेखि वनभोज खान आउने गरेको बताउनु हुन्छ ।

नगरको मात्र नभएर धारापानी पर्यटन क्षेत्र देशकै सम्पत्ति भएकाले यसको संरक्षण सम्बद्र्धन र विकासमा स्थानीयवासी सक्रिय भएर लागेको वडाध्यक्ष खत्रीले बताउनु भयो । वनभोज र मनोरञ्जनका लागि सुन्दर ठाउँ रहेकाले थप व्यवस्थित गर्न सकिए बाह्रै महिना पर्यटक भित्र्याउन सकिने स्थानीयहरू बताउँछन् ।
यस ठाउँमा झापा, मोरङ , सुनसरी , धनकुटा , उदयपुर , सिरहा , सप्तरी , धनुषा , महोत्तरी , सर्लाही , बारा , पर्सा , बुटवल , काठमाडौं र भारतका विभिन्न ठाउँबाट वनभोज खान आउने गरेको पर्यटन क्षेत्रले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page