समाचार

कञ्चनरुप ३ बरमझिया सुब्बा टोलमा माघी महोत्सव भव्यताका साथ सम्पन्न

कञ्चनरुप, १ माघ । कञ्चनरुपमा यो वर्ष माघी महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । थारु समुदायको मौलिक पर्व तिलासंक्रातीको अवसरमा आयोजित माघी महोत्सव भव्य रुपमा सम्पन्न भएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझिया सुब्बा टोलमा यो वर्ष पाँचौ माघी महोत्सवको आयोजना भएको थियो ।
कार्यक्रम समाजसेवी महिला संगीता चौधरीको अध्यक्षता तथा नेकपा एमालेकी केन्द्रिय सदस्य एवं पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री साथै सुनसरी २ की प्रतिनिधिसभा सदस्य भगवती चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्मक्रममा बोल्दै चौधरीले थारुसहित मुलुकमा सबैजातजातीले मनाउने कला संस्कृतिलाई संरक्षण गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाँले थारु सभ्यता प्राचीन सभ्यता रहेकोले यसको संरक्षणमा राज्यले भुमिका खेल्नुपर्ने बताउँदै सबै जातिसमुदायको संस्कृति संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि चौधरीले भोलानाथ सुब्बाको नाममा मुल गेट र उहाँलाई सहिद घोषणा गर्न पहल समेत गर्ने बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ता, पूर्व नगर प्रमुख बसन्त मिश्र, प्रतिनिधि सभाकी पूर्व सदस्य सरिता गिरि यादव, माधव चौधरी, वडाअध्यक्षहरु, वडा सदस्य, स्थानियवासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
माघी पर्व आदिवासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाउँने गर्दछन् ।

महोत्सवमा विशेष थारु नृत्य, थारु युवक–युवती, महिला र विभिन्न समुहले थारु गित गायन तथा नृत्यसँगै थारुको कला, पोशाक, गहना, घरेलु सामग्रीहरु प्रस्तुत गरेका थिए । महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु र गहनाको स्टलहरु राखेर भव्य रुपमा मनाईएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page