खेलकुद समाचार

सप्तरी प्रिमियर लिग : कञ्चनरुप राइनोजको रोमाञ्चक जित, ४ अंकसहित दोस्रो स्थानमा

कञ्चनरुप, २१ जेठ । राष्ट्रिय क्रिकेटरहरु सम्मिलित राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको चौथो दिन सोमबारको पहिलो खेलमा कञ्चनरुप राइनोजले तिरहुत टाइगर्सलाई पराजित गरेको छ ।
आज सम्पन्न पहिलो खेलमा कञ्चनरुप राइनोजले तिरहुत टाइगर्सलाई २ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ । १६७ रनको लक्ष्य पछ्याएको तिरहुत टाइगर्सले निर्धारित २० ओभरमा १० वटै विकेट गुमाएर १६५ रन मात्र बनाउँदा कञ्चनरुप राइनोज २ रनले विजयी भएको हो ।
तिरहुत टाइगर्सका रुपेश कुमार सिंहले अविजित ३३ रन बनाए पनि जित्न पर्याप्त भएन । उनले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरे । भोला कुमार साहले ३२, शंकर राना र अभिषेक कार्कीले समान २४ रन तथा दिपेश कडेलले १२ रन बनाए । कञ्चनरुपको बलिङ्गमा राहुल मण्डलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए । कप्तान राशिद खानले २ विकेट तथा दिनेश अधिकारी, चित्र बहादुर बिष्ट र उमेश कुमार चौधरीले समान १÷१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको कञ्चनरुपले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । कञ्चनरुपको लागि राकेश कुमार कामतले सर्वाधिक ६४ रनको योगदान दिए । जुन क्रममा उनले ४५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुभ कंशकारले २७ बलमा २ चौका र २ छक्काको मद्दतले ३२ रन बनाए । कप्तान राशिद खानले २४ र कर्ण बहादुर बिकले १६ रन बनाए । तिरहुत टाइगर्सको बलिङ्गमा बसिर अहम्मद र रुपेश कुमार सिंहले समान २÷२ विकेट लिए । अनिल यादव र दिपेश कडेलले समान १÷१ विकेट लिए ।
तीन खेलमा २ जित र एक नतिजाविहिन खेलपछि छिन्नमस्ता ५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । ३ खेलमा २ जित र १ हार बेहोरेको कञ्चनरूप ४ अंकसहित दोस्रो स्थानमा छ भने २ खेलमा १ जित र १ हारपछि तिरहुट टाइगर्स २ अंकसहित तेस्रो स्थानमा छ।
प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन्। बिहान ९ बजे सनराइज एघार तिलाठी कोइलाडी र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ः३० बजे राजविराज राजदेवी एघार र तिरहुट टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।
जेठ २८ गते सम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन्।
राउण्ड रोबिन लिग अन्तर्गत सञ्चालन हुने लिगमा सबै टिमले एक अर्कासँग १÷१ खेल खेले पछि समूहको शिर्ष–४ टिम बीच प्ले–अफमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खानलगायतले बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन् । विजेतालाई ३ लाख र उपविजेतालाई साढे १ लाख राशी पुरस्कार रहेको आयोजकले जनाएको छ ।

   

You cannot copy content of this page