खेलकुद मधेस प्रदेश

तिरहुत टाइगर्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश

राजविराज । तिरहुत टाइगर्स सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल पुगेको छ। शनिवार सम्पन्न रोमान्चक पहिलो क्वालीफायरमा छिन्नमस्ता लायन्सलाई ४ रनले पराजित गर्दै तिरहुत टाइगर्सले फाइनलमा स्थान पक्का गरेको छ ।
पराजित छिन्नमस्ताले अब फाइनल प्रवेशको लागि दोश्रो मौका पाउनेछ। आइतबार दोश्रो क्वालीफायरमा छिन्नमस्ता र कन्चनरुप राइनोज बीच प्रतिस्पर्धा हुनेछ। आज सम्पन्न इलिमीनेटरमा कन्चनरुपले सनराइज तिलाठी कोइलाडीलाई पराजित गरेको हो। पराजित हुँदै तिलाठी कोइलाडी प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो क्वालीफायर अन्तर्गत पब्लिक विन्देश्वरी मैदानमा तिरहुत टाइगर्सले दिएको १६८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनायो।
सुमित नेवारले अविजित ७२ रन बनाएता पनि जितको लागि पर्याप्त हुन सकेन। सुमितले ३७ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ७२ रन बनाए। मयन यादवले ३६ तथा विकास दासले २३ रनको योगदान दिए।
बलिंगतर्फ तिरहुतका अनिल यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २२ रन खर्चिए। रुपेश सिंहले २ तथा दिपेश कंडेलले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको तिरहुत टाइगर्सले २० ओभरमा १६७ रनमा सबै विकेट गुमायो।
तिरहुतको लागि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका बसिर अहमदले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै अमित यादवले ४२ रन बनाए जुन क्रममा ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
बलिंगतर्फ छिन्नमस्ता लायन्सका फिर्दोश अन्सारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३१ रन खर्चिए। मोहम्मद सोहेल र भिम शार्कीले समान २ विकेट तथा बिशाल पटेलले १ विकेट लिए।

   

You cannot copy content of this page