उत्सव आचार्य
कञ्चनरूप, १ जेठ । जिल्ला प्रशासन कार्यालय सप्तरीले विवाह, चाडपर्व तथा अन्य सांस्कृतिक कार्यक्रमका नाममा सार्वजनिक बाटोमा अत्यधिक ठूलो स्वरमा बाजा तथा डिजे (DJ) बजाउन रोक लगाएको छ।
प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा ठूलो आवाजमा डिजे बजाउँदा ध्वनि प्रदूषण भई मानवीय स्वास्थ्य र विशेषगरी विद्यार्थीहरूको अध्ययनको वातावरणमा गम्भीर असर परेको जनाएको छ।
ठूलो स्वरमा डिजे बजाउने कार्यप्रति व्यापक जनगुनासो बढेपछि गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखाको पत्रानुसार यो कदम चालिएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा शान्ति सुव्यवस्था र शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरिएको छ। अब उप्रान्त यस्ता कार्यक्रमहरू गर्दा आ-आफ्नो घर वा विवाह हुने स्थानमा मात्र, अरू व्यक्तिहरूलाई कुनै असर नपर्ने गरी बाजा वा डिजे बजाउन निर्देशन दिइएको छ।
प्रशासनको यो निर्देशन विपरीत कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ।













