समाचार समाज

सप्तरीमा लागुऔषध र आत्महत्या दुरुत्साहन मुद्दाका दुई अभियुक्त पक्राउ

कञ्चनरूप, १७ असार । सप्तरी प्रहरीले फरक–फरक मुद्दामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार लागूऔषध (खैरो हेरोइन) र आत्महत्या दुरुत्साहन मुद्दाका एक–एक जना प्रतिवादीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार बोदेबरसाइन नगरपालिका–२ गौरामा विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा खडक नगरपालिका–५

 निवासी ६२ वर्षीय अमिन चौधरी पक्राउ परेका हुन्। उनी सवार रहेको मोटरसाइकल जाँच गर्दा कालो प्लास्टिकभित्र लुकाएर राखिएको लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४ ग्राम ८६० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका बोदेबरसाइन नगरपालिका–४ सिलहट टोल निवासी ४० वर्षीय रामेश्वर रामलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ असार १२ गते सोही स्थानकी सरस्वती राम आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि मृतकका माइती पक्षले दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा रामेश्वर रामविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता भएको थियो। 

रामेश्वर रामले मृतकलाई पटक-पटक यौन दुर्व्यवहार गरेको, गाउँ समाजमा कुरा थाहा पाएपछि पञ्चायती हुँदा बयान बदल्न दबाब दिएको र ज्यान मार्ने धम्की दिएका कारण पीडितले मानसिक तनावमा आई आत्महत्या गरेको जाहेरी परेको थियो। 

फरार रहेका प्रतिवादीलाई पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page