कञ्चनरूप, १७ असार ।सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित रूपनगर प्रगति टोलमा २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आरसिसी सडकको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ। मधेस प्रदेश सरकारका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले रिबन काटेर सडकको औपचारिक उद्घाटन गर्नुभएको हो।
मधेस प्रदेश सरकारको चालु आर्थिक वर्षको विशेष अनुदान कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त सडक दिनेश बस्नेतको घरदेखि पश्चिम सुन्दरी टोल जाने सडक खण्डमा ढलान गरिएको हो। १ सय मिटर लम्बाइ, ६ मिटर चौडाइ र ६ इन्च मोटाइको आरसिसी सडक निर्माण सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री लेखीले सडक पूर्वाधारको विकासले स्थानीय आर्थिक गतिविधिलाई गति दिने तथा नागरिकको दैनिक जीवन सहज बनाउने बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रको दिगो विकासका लागि गुणस्तरीय सडक निर्माण आवश्यक रहेको उल्लेख गर्दै कालोपत्रे सडकको तुलनामा आरसिसी सडक बढी टिकाउ, बलियो र कम मर्मत खर्च लाग्ने भएकाले यस्ता सडक निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो।

उहाँले विकास निर्माणका योजनाहरूलाई समयमै सम्पन्न गरी जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण सिर्जना गर्नु सबै पक्षको साझा जिम्मेवारी भएको पनि बताउनुभयो।
स्थानीयका अनुसार वर्षौंदेखि वर्षायाममा हिलो र हिउँदमा धूलोका कारण आवतजावतमा सास्ती हुँदै आएको थियो। सडक ढलान सम्पन्न भएसँगै स्थानीयवासीलाई सहज आवतजावत हुनुका साथै सवारी सञ्चालन, कृषि उपज ढुवानी तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
सडक निर्माण कार्य प्राविधिक इस्टिमेट तथा तोकिएको मापदण्डअनुसार गुणस्तरीय रूपमा सम्पन्न गर्न उपभोक्ता समिति र प्राविधिक टोलीले निरन्तर अनुगमन गरेको जनाइएको छ।
उद्घाटन कार्यक्रममा कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त मिश्र, वडा सदस्य जैनुद्दिन मियाँ र दिपक भट्टराई, स्थानीय समाजसेवी, बुद्धिजीवी, उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














