कञ्चनरुप, २२ असार । जिल्ला प्रहरी कार्यालय सप्तरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रही विगत ७ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. ०४ बस्ने २५ वर्षीय रुन्चे सदा रहेका छन्।
प्रहरीका अनुसार वि.सं. २०७६ साल पुस १७ गते राती अन्दाजी १२ बजेको समयमा बोदेबर्साइन नगरपालिका वडा नं. ०४ स्थित मृतक सुकराती सदाकी छोरी २२ वर्षीया गीता देवी र उनका श्रीमान् (प्रतिवादी) बीच विवाद भएको थियो। उनीहरूका बीचमा छोरीको जन्म भएको र उक्त छोरीको असामयिक मृत्यु भएको विषयलाई लिएर विवाद बढेको थियो। सोही क्रममा प्रतिवादीले गीता देवीलाई कुटपिट गरी घाँटी थिची, डोरीले झुण्ड्याएर हत्या (कर्तव्य ज्यान) गरेको प्रहरीले जनाएको छ।
उक्त घटना घटेकै समयदेखि फरार रहेका सदालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा २०८३ साल असार २१ गते बोदेबर्साइन नगरपालिका वडा नं. ०४ सिल्हट स्थितबाट फेला पारी नियन्त्रणमा लिएको हो।पक्राउ परेका प्रतिवादी सदामाथि मृतक गीता देवीका बुबा सुकराती सदाको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको छ।
जिल्ला अदालत सप्तरीबाट असार २२ गतेदेखि लागू हुने गरी ३ (तीन) दिनको म्याद थप अनुमति लिई यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ।












