कञ्चनरूप, २३ असार । सप्तरीको पूर्वी–उत्तरी भेगमा पर्ने अग्निसाइर कृष्णसंवरण गाउँपालिका वडा नं. ६, महुली मोहनपुर क्षेत्रमा जंगली हात्तीको बथानले ठूलो क्षति पुर्याएको छ । सोमबार राति १० बजे गाउँको बीचमा छिरेको दर्जनौँ हात्तीको विशाल हुलले बिहान ३ बजेसम्म लगातार ५ घण्टा ताण्डव मच्चाउँदै कृषकहरूले भित्र्याउन तयारी अवस्थामा राखेको मकै खेती र रोप्नका लागि तयार पारिएको धानको बीउ (ब्याड) पूर्ण रूपमा नष्ट गरिदिएको छ ।
एकैसाथ ठूलो सङ्ख्यामा आएका हात्तीहरूले गाउँको बीचमै आएर आतङ्क मच्चाएपछि स्थानीयबासी रातभर त्रसित बनेका थिए । वर्षभरि खाने अन्नबाली थन्क्याउने बेलामा जंगली जनावरले सखाप पारिदिएपछि स्थानीय कृषकहरू यतिबेला गहिरो चिन्ता र शोकमा डुबेका छन् ।
३५ वर्षदेखिको सास्ती: बर्सेनि सयौँ बिघा बाली नष्ट
यस क्षेत्रका किसानहरूले विगत ३५ वर्षदेखि निरन्तर जंगली जनावरको आतङ्क खेप्दै आएका छन् । बर्सेनि जनधनको ठूलो क्षति ब्यहोर्नु परे पनि राज्यका सरोकारवाला निकायबाट अहिलेसम्म कुनै ठोस पहल नभएकोमा स्थानीयबासी आक्रोशित छन् ।
मोहनपुरका स्थानीय किसान दिपेन्द्र आचार्यका अनुसार जंगली जनावरका कारण यो क्षेत्र त्रसित बन्दै आएको छ । उहाँले दुःख व्यक्त गर्दै भन्नुभयो, “यस क्षेत्रमा बर्सेनि सयौं बिघाको अन्नबाली जंगली जनावरले नष्ट गर्दै आएको छ । वर्षभरिको मिहिनेत एकै रातमा सखाप हुँदा किसानको ढाड सेकिएको छ ।”
त्यस्तै, अग्निसाइर कृष्णसंवरण ६ मोहनपुरका अर्का कृषक प्रदिप आचार्यले भन्नुभयो, “हामी जंगली जनावरको चेपुवामा परेर सधैं पीडित छौं । जिउधनको यत्रो क्षति हुँदा समेत नियन्त्रणका लागि सरोकारवाला निकायले आँखा चिम्लेर बसेको छ ।”
पीडित स्थानीय कृषक दुर्गा भट्टराईले आफ्नो दुखेसो पोख्दै भन्नुभयो, “अब यही अवस्था रहिरहने हो भने यो ठाउँबाट सिङ्गो बस्ती नै विस्थापित हुने खतरा बढेको छ । सरकार गठन भएको थोरै दिन मात्र भयो भनेर पन्छिने बाहना कसैले नगरोस्, हामीलाई तत्कालै राहत र दीर्घकालीन सुरक्षा चाहिन्छ ।”
यतिबेला माननीय गृहमन्त्री झापाको बाहुनडाँगी क्षेत्रमा हात्ती नियन्त्रणको स्थलगत निरीक्षणमा रहनुभएको सान्दर्भिक प्रसंगलाई जोड्दै सप्तरीका पीडित जनताले गृहमन्त्रीको ध्यान आफूहरूतिर पनि खिचिनुपर्ने माग गरेका छन् । झापामा जस्तै सप्तरीको महुली मोहनपुर क्षेत्रमा पनि तत्काल स्थलगत अनुगमन गरी हात्ती नियन्त्रणका लागि दीर्घकालीन उपाय निकाल्न जोडदार माग गरिएको छ ।
स्थानीयबासीहरूले गृहमन्त्रीसँग सिधै सम्पर्कमा रहेका यस वडा तथा पालिकाका स्थानीय नेताहरू, सम्बन्धित सरकारी निकाय र जनप्रतिनिधिहरूलाई तत्कालै आवश्यक कदम चाल्न अनुरोध गरेका छन् ।
दर्जनौँ हात्ती एकैपटक बस्तीमा पसेर आतङ्क मच्चाएपछि सिङ्गो गाउँ नै संकटमा परेको छ । स्थानीयले काठमाडौँमा बसोबास गर्ने तथा सरकारका मन्त्री, प्रधानमन्त्री, संसद्, राष्ट्रिय सञ्चारमाध्यम र सरोकारवाला सबैसँग पहुँच भएका सम्पूर्ण साथीभाइ, मिडियाकर्मी एवं युट्युबरहरूलाई यो विषयलाई गम्भीरतापूर्वक उठाइदिन अपिल गरेका छन् । सम्बन्धित केन्द्रीय निकायसम्म दबाब पुर्याएर महुली मोहनपुरको सिङ्गो बस्तीलाई विस्थापित हुनबाट जोगाइदिन उनीहरूले विशेष अनुरोध गरेका छन् ।
अबिलम्ब सरकारी निकायको ध्यान नगए र जंगली हात्तीको आतङ्क नियन्त्रण नगरिए स्थानीय जनता सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् ।














