कञ्चनरुप, २४ असार । सप्तरी प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ बनौली निवासी ४५ वर्षीय जिवछ प्रसाद साह रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले बुधबार खडक नगरपालिका–११ बनौलीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार जेठ १३ गते बिहान करिब ७ः५५ बजे खडक नगरपालिका–११ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सडक खण्डमा जिवछ प्रसाद साहले धारिलो हतियार प्रयोग गरी कृष्णकुमार साहमाथि आक्रमण गरेका थिए। आक्रमणबाट पीडितको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गर्न सफल भएको हो। पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साहलाई सम्मानित सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।














