न्यायको खोजीमा रहेकी अपाङ्गता भएकी महिलालाई इन्सेकद्वारा आर्थिक सहायता
विराटनगर, २५ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालय, विराटनगरले घरेलु हिंसाबाट पीडित झापा दमक नगरपालिका–५ नवीन टोलकी २७ वर्षीया कविता गुरुङलाई न्यायिक प्रक्रियामा सहयोग पुर्याउन आर्थिक सहायता प्रदान गरेको छ।
अपाङ्गता भएकी गुरुङ घरपरिवारबाट निरन्तर हिंसामा परेपछि न्यायका लागि लड्दै आउनुभएको छ। उहाँलाई अदालतमा मुद्दा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले मानव अधिकार सहायता कक्षमार्फत ७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेलले जानकारी दिनुभयो।
पीडितले २०८२ कात्तिक ३० गते झापा जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्नुभएको थियो। अदालतले हजुरबुबा चन्द्रबहादुर गुरुङसहित परिवारका सदस्यहरूलाई अन्तरिम राहतस्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराउन तथा पीडितलाई संरक्षण दिन आदेश दिएको थियो। यद्यपि उक्त आदेश कार्यान्वयन नभएपछि पीडितले अदालतको अवहेलना, घरेलु हिंसा, अभद्र व्यवहार, अंशचलन, अंश भरपाईको लिखत बदर तथा जालसाजीसम्बन्धी मुद्दा समेत दायर गर्नुभएको छ।
झापा जिल्ला अदालतले २०८२ वैशाख १ गते पीडितलाई वासस्थान उपलब्ध गराउन अन्तरकालीन आदेश जारी गरेको भए पनि आदेश कार्यान्वयन नभएको जनाइएको छ। साथै, न्यायाधीश लोकबहादुर हमालको इजलासले पीडितलाई घरमा बसोवास गर्न दिन, खान–लाउन, उपचारको व्यवस्था गर्न तथा कुटपिट नगर्न आदेश दिए पनि विपक्षी पक्षले पालना नगरेको बताइएको छ।
हाल शिवसताक्षी नगरपालिका–५ मा बस्दै आउनुभएकी गुरुङको आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रिया निरन्तर अघि बढाउन सहयोग आवश्यक परेको थियो। शिवसताक्षी–५ का वडाध्यक्ष विष्णुप्रसाद प्रसाइ तथा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको सिफारिसपछि इन्सेकले उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका व्यवस्थापक सरोज नेपालीको पनि उपस्थिति रहेको थियो।












