कोशी प्रदेश समाचार

कोशी नदी किनारबाट ३०८ केजी गाँजा बरामद

कञ्चनरूप (सप्तरी), २५ असार । सुनसरी प्रहरीले कोशी नदी किनारमा बेवारिसे अवस्थामा लुकाइराखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब १:३० बजे कोशी गाउँपालिका–७ स्थित केराबारी र भाण्टाबारीको बीचमा रहेको सप्तकोशी नदीको बाँधछेउमा गस्ती गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार नदी किनारमा पानीभित्र कालो प्लास्टिकले बेरिएका ८ वटा पोका बेवारिसे अवस्थामा फेला परेका थिए। ती पोका खोलेर जाँच गर्दा ३०८ किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page