काठमाडौं, १६ साउन । मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित भव्य ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन्।
द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा विभिन्न चरणका प्रतिस्पर्धा, प्रतिभा प्रस्तुति, प्रश्नोत्तर तथा निर्णायक मण्डलको समग्र मूल्याङ्कनपछि दीपमालालाई मिस नेपाल–२०२६ घोषणा गरिएको हो।
दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल–२०२५ को उपाधि जितिसकेकी छन्। हाल उनी हङकङमा बसोबास गर्दै आएकी छन्।

यसैगरी, कशिस सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेसनल–२०२६ घोषित भइन्।
प्रतियोगितामा सहभागीहरूले विभिन्न चरणमा आफ्नो व्यक्तित्व, प्रतिभा, आत्मविश्वास तथा सामाजिक दृष्टिकोण प्रस्तुत गरेका थिए। अन्तिम चरणमा निर्णायकहरूको मूल्याङ्कनका आधारमा विजेताहरूको घोषणा गरिएको आयोजकले जनाएको छ।
मिस नेपाल प्रतियोगिता नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ, जहाँबाट छनोट भएका विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।













