काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान सरकारप्रति जनअसन्तुष्टि तीव्र रूपमा बढ्दै गएको दाबी गर्दै सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको कार्यशैलीप्रति आमजनतामा निराशा बढेकाले वर्तमान सरकार लामो समय टिक्न नसक्ने अवस्था सिर्जना भएको बताए। परिवर्तनका पक्षधर तथा प्रगतिशील शक्तिहरू समेत वर्तमान परिस्थितिबाट असन्तुष्ट रहेको उल्लेख गर्दै उनले जनताले आफूहरू ठगिएको महसुस गरिरहेको दाबी गरे।
महासचिव विप्लवले प्रधानमन्त्री बालेन्द्र शाहप्रति जनतामा रहेको आशा र विश्वास पनि क्रमशः कमजोर बन्दै गएको बताए। उनले देशको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको, विदेशी ऋणको भार बढेको, उत्पादन क्षेत्र खुम्चिँदै गएको तथा सुकुम्बासी, मिटरब्याज पीडित र लघुवित्त पीडितका समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाए।
सरकारले जनताका आधारभूत समस्या तत्काल सम्बोधन नगरे नयाँ आन्दोलनको विकल्प नरहने चेतावनी दिँदै उनले कम्युनिस्ट आन्दोलनको एकताबारे पनि धारणा राखे। उनका अनुसार पुरानै शैलीमा पार्टी फुटाउने वा थप्ने प्रवृत्तिले राजनीतिक समस्याको समाधान नदिने भएकाले विचार र कार्यदिशामा आधारित सहकार्य आवश्यक रहेको बताए।


















