कञ्चनरूप, २८ साउन । सप्तरीमा बुहारीलाई पटक–पटक यातना दिँदै जबरजस्ती विष सेवन गराई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका–८ काचन टोलका ५५ वर्षीय बब्री दास रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दासलाई विष सेवनबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०७७ साल कार्तिक १७ गते राति करिब १२ः३० बजे दासले आफ्नी २५ वर्षीया बुहारी शिवकुमारी दासले छोरी मात्र जन्माएको भन्ने निहुँमा पटक–पटक यातना दिँदै कुटपिट गरेका थिए। त्यसपछि शिवकुमारीलाई जबरजस्ती विष सेवन गराई कर्तव्य गरी हत्या गरेको आरोप दासमाथि रहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका दासलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको हो। पक्राउ परेका दासविरुद्ध मृतकका बुबा कञ्चनरूप नगरपालिका–३ का ४३ वर्षीय रामदेव दासको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
दासलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।













