काठमाडौं, २९ साउन । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण तथा सामग्री नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र संविधानप्रदत्त सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो।
नेपालको संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार, लेख, सम्पादकीय, रचना वा सूचना प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यम बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने व्यवस्था गरेको महासंघले स्मरण गराएको छ।
महासंघले समाचार स्रोतमा पहुँच राख्न राज्य संयन्त्रको प्रयोग गर्नु असंवैधानिक र गैरकानुनी भएको ठहर गर्दै जफत गर्ने नियतले नियन्त्रणमा लिइएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न माग गरेको छ। साथै समाचार स्रोत र सम्पादकीय सामग्रीको गोपनीयता पूर्ण रूपमा सुरक्षित गर्न राज्यसँग आग्रह गरेको छ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा शुक्रबार जनआस्थाको कार्यालय पुगेको टोलीले घटनाको निरीक्षण गर्दै नियन्त्रणमा लिइएका सामग्री र त्यसबाट पत्रिकाको प्रकाशनमा परेको असरबारे जानकारी लिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध एकजुट हुन स्वतन्त्रता पक्षधर नागरिक समुदायसँगसमेत आग्रह गरेको छ।














