समाचार

उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी दुर्घटना,६ जना घाइते

मकवानपुर, २ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था मध्यम रहेको जनाइएको छ।

त्यस्तै, उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश दाङ तुलसीपुर उपमहानगरपालिका–९ का करिब ५७ वर्षीय गोकर्ण डाँगी, बैतडी दशरथचन्द नगरपालिका–७ का करिब ५१ वर्षीय तारादत्त बडु, उनका २५ वर्षीय छोरा रितेन्द्र बडु तथा ३१ वर्षीया दिदी रिता बडु घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको छ।

तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु भने गम्भीर घाइते भएकी छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

   

You cannot copy content of this page