काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई पक्राउ गरिएको हो।
नाबालिकासँग फेसबुकमा साथी बनेपछि उनलाई प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने, चरित्र हत्या गर्ने र रकमसमेत माग गरेको भन्दै परेको निवेदनका आधारमा ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको खुलेपछि साइबर ब्यूरोबाट खटिएको टोलीले कटुवाललाई २०८३ भदौ ३ गते पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका कटुवालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।


















