कञ्चनरूप, ९ असोज । लगातारको वर्षाका कारण कोशी ब्यारेजमा पानीको बहाव उच्च स्तरमा पुगेको छ। आज दिउँसो १:१५ बजेको पछिल्लो मापन अनुसार कोशी नदीमा पानीको बहाव २,२९,९६० (दुई लाख उनन्तीस हजार नौ सय साठी) क्युसेक पुगेको छ।
पानीको सतह निरन्तर बढ्दो क्रममा (Rising) रहेकाले स्थिति खतराको तह (Danger) मा पुगेको छ। नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ३० वटा ढोका (Gates) खोलिएको छ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।
प्रशासनले कोशी तटीय क्षेत्र तथा आसपासका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। स्थिति नियन्त्रण र अनुगमनका लागि सुरक्षा निकाय तथा स्थानीय प्रशासन पूर्ण तयारी अवस्थामा रहेका छन्।














