कञ्चनरूप, १० असोज । सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएको छ। शनिबार बिहान ६:३० बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ३ लाख १६ हजार ७ सय ९५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ। ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन रातो बत्ती बाल्ने गरिएको छ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। नियन्त्रण कक्षले जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको जनाएको छ।
पानीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुरक्षा निकायले माइकिङमार्फत सचेत गराइरहेको जनाइएको छ।
सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
















