कञ्चनरूप, १९ असोज । प्रतिबन्धित लागूऔषधसहित उदयपुरका दुई जना युवकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उदयपुरको त्रियुगा नगरपालिका-१३ निवासी २५ वर्षीय सुमन राई र सोही ठाउँका २१ वर्षीय आशिष अधिकारी रहेका छन्।
प्रहरी चौकी बिसनपुरबाट खटिएको टोलीले उनीहरूलाई खडक नगरपालिका-५ स्थित कल्भर्ट नजिकबाट शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
विशेष सुराकीका आधारमा जाँच गर्दा उनीहरूको साथबाट ३ सय ६६ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बरामद लागूऔषधमा डाइजापाम १२२ एम्पुल, ब्रुप्रेनर्फिन १२२ एम्पुल र फेनारगन १२२ एम्पुल रहेका छन्।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (DSP) हेमराज घिमिरेले जानकारी दिनुभयो।













