समाचार • समाज

माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते

बागलुङ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँतर्फ जाने भित्री सडकखण्डमा लु.१ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।

ढिस्कोमा पुरिएर मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। उनीहरू दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो।

घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाइते घर्तीलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page