कञ्चनरूप, २० असोज । सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित बलान खोलाको किनारबाट प्रहरीले ४८ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०८३ असोज १९ गते राति करिब १ः३० बजे बलान खोलाको पुलभन्दा दक्षिणतर्फ किनारमा प्रहरी चौकी मौवाहा सिराहाबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्रकुमार मण्डल र प्रहरी चौकी सप्तरीबाट प्रहरी सहायक निरीक्षक रामनारायण यादवको संयुक्त टोलीले गस्ती गर्ने क्रममा गाँजा बरामद गरेको हो।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका केही व्यक्तिले टाउकोमा गाँजा बोकी आइरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि गाँजा सोही स्थानमा फाली फरार भएका थिए। प्रहरीले घटनास्थलबाट प्लास्टिकका तीनवटा बोरामा कालो कपडाले बाँधेर राखिएका १७ वटा पोका फेला पारेको थियो।
बरामद गाँजा डिजिटल तराजुमा तौल गर्दा जम्मा ४८ किलो रहेको प्रहरीले जनाएको छ। बरामद लागूऔषध गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।















