कञ्चनरुप (सप्तरी), १६ वैशाख । सप्तरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ९ देउरीका १९ वर्षीय शंकर यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।
बिहीबार दिउसो १६ः४५ बजेको समयमा यादवले घर कोठामा अवैध लागूऔषध बिक्री बितरण गर्ने उदेश्यले लुकाई छिपाई भण्डारण गरी राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटी गएको प्रहरी टोलीले खानतलासी गर्दा ठुलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको हो ।
यादवको कोठाबाट नाईट्राभेट १० लेखिएको ट्यावलेट १ हजार २५० पिस, डाइजापाम इन्जेक्सन ७५० एम्पुल, फेनरागन इन्जेक्सन ७५० एम्पुल, नोफिन इन्जेक्सन ७५० एम्पुल अवैध लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई लागूऔषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट म्याद थप समेतको अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
Add Comment