कञ्चनरुप, २८ असार । मुमताजुल उलुम मदरसा कञ्चनरुप -११ गोरपारको चार कोठे पक्की भवनको उद्घाटन भएको छ ।
मंगलबार कञ्चनरुप नगरपालिकाका निर्वतमान नगर प्रमुख बसन्तकुमार मिश्रले मदरसाको चार कोठे पक्की भवनको रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
नगरपालिकाको ६० लाखको सहयोगमा चार कोठे पक्की भवन बनाउन सफल भएको र मदरसालाई मो. ममताज अलीले २ कठ्ठा २ धुर जग्गा दान गरेको कुरा वडा नम्बर ११ का निर्वतमान वडा अध्यक्ष मो. जिवरिलले बताउनु भयो ।
२०७४ सालमा स्थापना भएको मदरसामा प्रधानाध्यापक मो. उस्मान र मुल्वी कमरे आलम गरी जम्मा दुई जना शिक्षक रहेको र ७० जना छात्रछात्रा रहेको मदरसाले २ कक्षासम्म अध्यापन गराउने अनुमति पाएको मुल्वी कमरेआलमले जानकारी गराउनु भयो ।
मदरसाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कञ्चनरुप नगरपालिकाका निर्वतमान नगर प्रमुख बसन्त कुमार मिश्रले मधेश प्रदेशमा शिक्षा क्षेत्र धेरै पछाडि परेको बताउँदै निजी मदरसा र सरकारी विद्यालय गुणस्तरीय शिक्षाका साथै क्षमतावान विद्यार्थी बनाउन सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले आफू जनताको सेवक भएकाले जनताको हितमा काम गर्ने बताउँदै मदरसालाई एक शिक्षक थप गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
वडा नम्बर ११ का वडा अध्यक्ष लललित नारायण गोजेवार, निर्वतमान वडा सदस्य कैलु चौधरी लगायतका वक्ताहरुले मदरसालाई नमूना बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
वडा नम्बर ११ का निर्वतमान वडा अध्यक्ष मो. जिवरिलको अध्यक्षतामा मदरसाको उद्घाटन भएको थियो ।
Add Comment