कञ्चनरुप, १० श्रावण । पछिल्लो समययता सप्तरीको कञ्चनरुप- १२ रुपनगरमा दिनहुँ चोरी हुँन थालेपछि स्थानीयहरु डरत्रासमा सुत्न बाध्य भएका छन् ।
रातिको समयमा मौका छोपेर आउने चोरले स्थानीय बासिन्दाका घरबाट धनमाल, विभिन्न वस्तु चोरी हुन थालेपछि स्थानीय बासिन्दा त्रस्त बनेका हुन् ।
सोमबार राती कञ्चनरुप–१२, सितापुरकी सीता कार्कीको एउटा मोबाइल, कुजराहीका समसुद्धिन मियाँको एउटा मोबाइल चोरले चोरेर लगेको पिडितले बताएका छन् । त्यसैगरी आइतबार रातीको समयमा चर्खियाका मदनी खाँको नगद रु २ लाख ५० हजार, रेडमी मोबाइल एउटा, ओपो मोबाइल एउटा, मो। दिलसादको एउटा मोबाइल, तीन घरेका राजनारायण श्रेष्ठको नगद २० हजार ७ सय र एउटा मोबाइल र मो। इजराइल मियाँको एउटा मोबाइल र विदेशी टर्च १ थान चोरले चोरेर लगेको पिडित मदनी खाँले बताए ।
सोमबार मदनी खाँ, मो। दिलसाद, राजनारायण श्रेष्ठ, इजराइल मियाँ सहित चार जनाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा चोरी भएको सामान सहितको विवरण लेखी सामूहिक रुपमा निवेदन दिँदा समेत हालसम्म त्यसको बारेमा कुनै सुनुवाई नभएकोमा दुखेसो पोख्दछन् पिडित मदनि खाँ । जब रात पर्छ हामी डरत्रासमा सुत्न बाध्य हुन्छौँ खाँले भने ।
गाउँमा हो हल्ला भयो कि चोर आयो भन्ने डरत्रास हुने सीता कार्की बताउँछिन् । चोरी हुने क्षेत्रमा प्रहरीको गस्ती हुन अतिनै आवश्यक रहेको स्थानीयको भनाइ रहेको छ । त्यस्तै एनुल मियाँ लगायत ४–५ जनाको घरमा समेत चोर पसेको र केही लान नपाएको स्थानियहरुले बताए ।
यसरी दिनहुँ चोरी हुने डरले स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् ।
सुरक्षा निकायले नगरपालिकाका मुख्य स्थानमा मात्रै गस्ती गर्ने गरेको पाइए पनि नगरका भित्री गल्लीमा भने दिनप्रतिदिन चोरीका घटना हुन थालेका र रातिको समयमा प्रहरीको गस्ती पनि निकै फितलो हुन थालेपछि दैनिकजसो चोरी बढ्न थालेको छ ।
Add Comment