खेलकुद समाचार

सप्तरी प्रिमियर लिग : आइतबारको दोस्रो खेलमा कञ्चनरुप राइनोज २० रनले विजयी

कञ्चनरुप, २० जेठ । राष्ट्रिय क्रिकेटरहरु सम्मिलित राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको आइतबारको दोस्रो खेलमा कञ्चनरुप राइनोजले बलान बिहुल सुपर किंग्सलाई पराजित गरेको छ ।
१५३ रनको लक्ष्य पछ्याएको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन मात्र बनाउँदा कञ्चनरुप राइनोज २० रनले विजयी भएको हो ।
राजविराजमा सञ्चालित छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको आइतबारको दोस्रो खेलमा बलान बिहुलका बब्बु गोठियाले ५८ रन बनाए पनि जित्न पर्याप्त भएन । उनले ४१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । साहिल पटेलले १३, सन्तोष कार्कीले १२ तथा बिबेक यादवले ११ रन बनाए । कञ्चनरुपको बलिङ्गमा दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २० रन खर्चिए । राहुल मण्डलले ३ तथा चित्र बहादुर बिष्ट र अरनिको यादवले १÷१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरको कञ्चनरुपले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो । कञ्चनरुपको लागि कप्तान राशिद खानले सर्वाधिक ३९ रन योगदान दिए । जुन क्रममा उनले २९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । यस्तै प्लेयर अफ द म्याच घोषित राहुल मण्डलले २४ बलमा ४ छक्का मद्दतले ३७ रन बनाए । राकेश कामतले २९ तथा महानन्द यादवले १९ रनको योगदान दिए । बलान बिहुलको बलिङ्गमा सन्तोष कार्की एक्लैले ५ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा १७ रन खर्चिए । साहब आलमले १ विकेट लिए ।
म्यान अफ दि म्याच मण्डललाई राजविराज ८ का वडा अध्यक्ष बन्धुलाल दास र गेम चेञ्जर दिनेश अधिकारीलाई अन्नपूर्ण पोष्टका प्रतिनिधि मनोहर पोखरेलले कप र नगर पुरस्कार प्रदान गरे ।

यो जितपछि छिन्नमस्ता लायन्स दुई खेलमा दुवै जित सहित अंकतालिकाको शिर्षमा छ । समान २ अंक रहेता पनि नेट रन रेटको आधारमा तिरुहुत टाइगर्स दोश्रो, कञ्चनरुप राइनोज तेश्रो तथा राजविराज राजदेवी एघार चौंथो स्थानमा छ । अंकविहिन बलान बिहुल पाँचौ र सनराइज एघार तिलाठी कोइलाडी अन्तिम स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत चौंथो दिन सोमबार पनि दुई खेल हुनेछन् । विहानको खेलमा कञ्चनरुप राइनोज र तिरहुत टाइगर्स तथा दिउँसोको खेलमा सनराइज एघार तिलाठी कोइलाडी र छिन्नमस्ता लायन्सले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिग अन्तर्गत सञ्चालन हुने लिगमा सबै टिमले एक अर्कासँग १÷१ खेल खेले पछि समूहको शिर्ष–४ टिम बीच प्ले–अफमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय क्रिकेटरहरु बिनोद भण्डारी, भिम शार्की, विवेक यादव, दिलिप नाथ, रिजन ढकाल, शाहब आलम, बसिर अहमद, राशिद खानलगायतले बिभिन्न टिमको प्रतिनिधित्व गरिरहेका छन् । विजेतालाई ३ लाख र उपविजेतालाई साढे १ लाख राशी पुरस्कार रहेको आयोजकले जनाएको छ ।

   

You cannot copy content of this page