कञ्चनरुप, ९ फागुन । नेकपा एमालेका तर्फबाट सप्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार सुमनराज प्याकुरेल यतिबेला चुनावी अभियानलाई तीव्रता दिँदै दिनहुँ घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय देखिएका छन्।
शनिबार उम्मेदवार प्याकुरेलले कञ्चनरुप नगरपालिका–१२ मा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरे। कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

भेटघाटका क्रममा प्याकुरेलले आफू विजयी भएमा सप्तरी क्षेत्र नम्बर १ मात्र नभई समग्र जिल्लाको शिर उच्च हुने गरी विकास, सुशासन र समृद्धिका कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। “जनताको भरोसा जितेर विकासको नयाँ आयाम थप्ने मेरो लक्ष्य हो,” उनले भने। साथै उनले ढुक्क भएर आफ्नो पक्षमा मतदान गर्न मतदातासमक्ष आग्रह गरे।
कार्यक्रममा एमालेका मधेस प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य जीवन (मनिष) श्रेष्ठले देशभित्र र बाहिरबाट विभिन्न शक्तिहरूले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह गरे। उनले विकासप्रेमी नेतृत्वको रूपमा प्याकुरेललाई अत्याधिक मतका साथ विजयी गराउन सबैलाई अपिल गरे।

स्थानीय लक्ष्मी श्रेष्ठले विगतमा चुनाव नजित्दा पनि प्याकुरेलले क्षेत्रमा उल्लेखनीय विकासका काम गरेको उल्लेख गर्दै यसपटक राम्रो मतसहित विजयी हुनेमा आफू विश्वस्त रहेको बताइन्।
स्वतःस्फूर्त रूपमा हजारौँ समर्थक तथा स्थानीयवासीको सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रमले क्षेत्रको चुनावी माहोललाई थप उत्साहित बनाएको छ।














