काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ।
निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि सिट बाँडफाँटको अन्तिम विवरण सार्वजनिक गरेको हो ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्राप्त कुल सदर मतका आधारमा कानुनमा तोकिएको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभामा सिट प्राप्त गरेका छन् ।
सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा धेरै ५७ सिट सहित पहिलो स्थानमा रहेको छ । त्यसैगरी नेपाली कांग्रेस ले २० सिट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी–लेनिनवादी) ले १६ सिट, नेपाल कम्युनिष्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी ले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४ सिट प्राप्त गरेका छन् ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्था अनुसार समानुपातिकतर्फको सिट बाँडफाँट गरिएको हो ।
यसअघि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रबाट मतगणना सम्पन्न भइसकेको र सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरिसकिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ सिट प्राप्त गरेका दलहरूलाई कानुनअनुसार तीन दिनभित्र बन्दसूचीअनुसार उम्मेदवारको नाम छनोट गरी आयोगमा पेश गर्न निर्देशन दिएको छ ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।












