कञ्चनरुप, १८ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिबन्धित औषधिसहित एक जना युवकलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी अन्दाजी २४ वर्षीय सञ्जय कुमार साह रहेका छन्।
प्रहरीका अनुसार चैत १६ गते दिउँसो करिब ४ बजे प्रहरी चौकी झुट्की, सप्तरीबाट खटिएको गस्ती टोलीले जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर क्षेत्रमा शंकास्पद रूपमा आउँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो। भारतबाट नेपालतर्फ आइरहेको उक्त मोटरसाइकललाई जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएका प्रतिबन्धित औषधि फेला परेका हुन्।
उनले चलाएको प्र २–०१–००२ प ६००६ नम्बरको मोटरसाइकलभित्रबाट प्रहरीले इटोट्रिट (९०) का २४० पिस, इटोट्रिट (पी) का ८० पिस, इटोट्रिट (६०) का १२० पिस, रेस्पिथिकका १० पिस र बेप्लिक्स फोर्टको १ पिस बरामद गरिएको जनाएको छ। साथै, एक थान आइफोन र एक थान बेनो मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले बरामद गरिएका औषधि, मोटरसाइकल तथा साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभागको कार्यालय, विराटनगर पठाइएको पजल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।








