खेलकुद समाचार

अमेरिका र स्कटल्यान्डविरूद्ध हुने सिरिजका लागि नेपालको टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज घोषणा गरेको टोलीमा युवा ब्याटर इशान पाण्डेले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
अमेरिका र स्कटल्याण्डविरुद्ध हुने यस महत्वपूर्ण सिरिजका लागि टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलन कायम गरिएको छ। रोहित पौडेलको कप्तानीमा रहेको टोलीको उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख र भीम सार्की जस्ता भरपर्दा ब्याटरहरू समावेश छन् भने अलराउण्डरको भूमिकामा आरिफ शेख, गुलशन झा र उपकप्तान दीपेन्द्रसिंह ऐरी रहनेछन्। बलिङतर्फ अनुभवी सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले नेपाली टोलीको नेतृत्व गर्नेछन्। साथै ललितनारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव र अर्जुन कुमालले पनि टोलीमा स्थान सुरक्षित गरेका छन्।
विशेष गरी पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका इशान पाण्डेको आगमनले नेपाली ब्याटिङ लाइनअपमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
नेपाली टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, इशान पाण्डे, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।
नेपालले अमेरिकामा आयोजक अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप लिग–२ को अंकतालिकामा सुधार गर्नका लागि नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण मानिएको छ।

   

You cannot copy content of this page