कञ्चनरुप , २२ असार । नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा सोमबार कञ्चनरुपस्थित रूपनगर चोकमा बुकिङ कर्मचारीहरूको एक बृहत् भेला सम्पन्न भएको छ।
संघका जिल्ला अध्यक्ष सञ्जय कुमार भगतको अध्यक्षता तथा रूपनगर चोकका बुकिङ इन्चार्ज रामहरी ढकालको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सचिव जीवछ सरदारले गर्नुभएको थियो भने भेलामा जिल्लाभरिका उल्लेख्य सङ्ख्यामा बुकिङ कर्मचारी तथा यातायात मजदुरहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामहरी ढकालले ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने बहानामा प्रस्ताव गरिएको भारी जरिवाना तत्काल खारेज हुनुपर्ने माग राख्नुभयो। उहाँले मजदुरहरूका लागि सामाजिक सुरक्षा लागू गर्न, न्यायोचित पारिश्रमिक सुनिश्चित गर्न, मर्यादित रोजगारीको वातावरण बनाउन र सुरक्षित सडकको व्यवस्था मिलाउन राज्यसँग माग गर्नुभयो।

यसैगरी, संघका जिल्ला अध्यक्ष सञ्जय कुमार भगतले सुरक्षित सडक र सामाजिक सुरक्षाको ग्यारेन्टी बिना, निश्चित कार्यघन्टा (सवारी चलाउने अवधि) र रोजगारीको सुनिश्चितता नभएको वर्तमान अवस्थामा ट्राफिक कारबाहीका नाममा प्रस्तावित जरिवाना कुनै पनि हालतमा न्यायोचित हुन नसक्ने जिकिर गर्नुभयो।
कार्यक्रममा मजदुर नेता उत्तम आचार्यले संगठन नै मजदुरहरूको मुख्य शक्ति भएको उल्लेख गर्दै हकहितका लागि सबै मजदुरहरू एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले आफ्नो पेसालाई अनुशासित र मर्यादित बनाएर काम गरेमा समाजमा सबैको प्रिय बन्न सकिने सुझाव समेत दिनुभयो।

पछिल्लो समय नेपाल यातायात मजदुर संघले ुसेफ रेट्स अभियान अन्तर्गत सुरक्षित सडक, उचित पारिश्रमिक, आई.एल.ओ. को गाइडलाइन पालना, र यातायात मजदुर कल्याणकारी कोषको स्थापना जस्ता विभिन्न १४ बुँदे मागहरू अघि सारेर देशव्यापी रूपमा आवाज उठाउँदै आएको छ।
सोही अभियानको एउटा कडीका रूपमा सप्तरीमा यो भेला आयोजना गरिएको संघले जनाएको छ।













