कञ्चनरूप, साउन १४ — जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले बोदेबरसाइन नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बिहीबार आदेश जारी गर्दै जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयअनुसार उक्त निषेधाज्ञा लागू गरिएको जनाएका छन्।
जारी आदेशअनुसार निषेधाज्ञा क्षेत्रको पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा पृतमपुर चोक, उत्तरमा नेंगडा चोक र दक्षिणमा मानराजा चोक सम्मको क्षेत्र तोकिएको छ।
यो आदेश साउन १४ गते राति १० बजेदेखि अर्को आदेश नभएसम्म लागू रहने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरे, गराए वा आदेश विपरीत कार्य भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।














