समाचार

कोशी टप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित गर्न आरक्षको घेराबेरा संरक्षण प्रक्रियाका बारे छलफल

डम्बर राई /
कञ्चनरुप , माघ २४ गते ।
कोशी टप्पु वन्यजन्तु आरक्षलाई व्यवस्थित गर्न आरक्षको घेराबेरा संरक्षण नगरपालिका र सम्बन्धित कार्यालयसँग आवश्यक प्रक्रियाका बारेमा शनिवार कञ्चनरुप नगरपालिकामा विभागको टोलीसँग विस्तृत रुपमा छलफल भएको छ ।
सो अवसरमा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले आरक्षको विषयमा धेरै पटक छलफल भएको हो तर व्यवहारमा लागू गर्न सकिएन केही कारणहरु देखाउँदै उहाँले भन्नुभयो जनावर र मानिसको दुवैको हकमा संरक्षण कसरी हुन्छ ?
आरक्ष अभिसाव मात्रै भयो वरदान भएन त्यहाँ खुल्ला चरीचरण घरपालुवा जनावर गाई भैंसी छन् यसको खुल्ला चरीचरणले आरक्षलाई विकास गर्नुको साथै धेरै घरपालुवा जनावरले आरक्षलाई अतिक्रमण गरेपछि त्यहाँका जंगली जनावरहरु बाहिर आई आफ्नो पेट पाल्ने काम गर्न बाध्य छन् ।
जंगली जनावरले बालिनाली खाई नष्ट गर्ने , क्षतिपूर्तिमा सुधार आउनुपर्ने जति क्षति गरेपनि १० हजार भन्दा बढी सरकारले नदिएको साथै जीउ ज्यानको क्षतिमा पनि पाउने जति राहतमा चित्त बुझ्दो नभएकोमा उहाँले गुनासो गर्नुभयो ।

हात्ती , अर्ना, गोही, बाँदर, चमेरा, बदेँल लगायतका जनावरहरुले मानिसलाई ठुलो दुख दिने र अन्नबाली नोक्सान गर्नाले किसानहरुले खेती नै गर्न छोडे, कञ्चनरुप नगरपालिका भित्र मात्र ११ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको र १५ जनाभन्दा बढीलाई घाइते बनायँदा समेत आरक्षलाई व्यवस्थित बनाउन पहल नहुनु दुखदायी भएको बताउनुभयो । काम गर्नेभए राम्रोसँग गरौं नगर्ने भए यस्ता छलफल गर्न कुनै औचित्य छैन र बसिरहनु पनि आवश्यक छैन् उहाँले भन्नुभयो ।

उहाँले आरक्षबाट स्थानिय तहले पनि त्यसको क्षेत्रभित्रबाट बालुवा माटोलाई भोग चलन गर्न पाउनु पर्ने तर त्याहाँबाट नगरपालिकाको विकासिय काम अन्तर्गतका भवन सडक लगायतका सार्वजनिक निर्माण कार्य गर्न त्याहाँको बालुवा, ढुङ्गा गिट्टि माटो निकासी गर्न नसकिएको बारेमा जानकारी गराउनुभयो ।

आरक्षलाई पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्न सकिने प्रवल सम्भावनालाई पस्कदै नगर प्रमुख मिश्रले आरक्षभित्र केही आफ्ना दिव्य योजनालाई देखाउँदै कोशीसम्म पुग्ने बाटो (सडक) निर्माण गर्ने, आरक्ष विहार गर्ने लगायतका टुरको व्यवस्था गर्ने हो भने भित्रि र वाह्रय पर्यटकहरुको आगमन हुन सक्ने सम्भावनाका बारेमा बताउनुभयो । जमुवामा आठ वटा होमस्टेहरु निर्माण गरिएको छ तर त्याहाँ कुनै प्रभावशाली तथा आकर्षणका आधारहरु नभएका कारण ती होमस्टेको महत्त्व नदेखिएको बताउनुभयो । गत वर्ष ११ करोड रकम घेराबेराका लागि विनियोजन भएता पनि त्यो रकमको काम हुन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।

सप्तकोशी नगरपालिकाका सल्लाहकार दुर्गा फूँयालले जंगली जनावर हात्ती , बँदेलले मारिएका पिडित परिवारजनलाई सरकार पक्षका सांसद तथा मन्त्रीहरुले भेटघाट गरेर उनीहरुको पिडा दुख समस्याका बारेमा जान्न नचाहेको प्रति दुख व्यक्त गर्नुभयो ।
जंगली जनावरलाई नियन्त्रण गर्न कान्जीहाउसको व्यवस्था मिलाई अघोषित जनावरहरुलाई पक्राउ गरी कान्जी हाउसमा राखी कारवाहिको प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यहाँ भित्रका घरपालुवा जनावरलाई बाहिर निकाल्ने बारेमा आरक्ष कार्यालयले तुरुन्तै पहल गरी मानिसले बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने विषयमा संवेदनशील हुन आग्रह गर्नुभयो ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कुशाहा सुनसरीका सहायक वार्डेन सन्तोष मण्डलले गत वर्ष ३ करोडको लागतमा सोलार फेस र मेसिनरी वालको व्यवस्था गर्ने सहमति भएता पनि गठितलसमितिको अलमलका कारणले काम हुन नसकेको बताउनुभयो ।
वार्डेन असोक रामले पूर्वि सिमाना र पश्चिम सिमानाको समस्याले गर्दा पनि काम गर्न कठिनाई भएको बताउदै चरिचरणको समस्याबारेमा केही निश्चित ठाउँ निर्धारण गरी गेट राखेर त्रियुगा खोलासम्म गाईभैंसीलाई पानी खुवाउने सम्मको व्यवस्था मिलाउन सकिने बताउनुभयो ।
३ किलोमिटर आरक्षले सोलार फेस लगाउने त्यसमा नगरपालिकाबाट पनि घेराबेराका लागि सहयोग गरिदिनका लागि आग्रह गर्नुभयो । फाइ (लाइन,पिकनिक स्पोर्ट,टुर क्षेत्र) लगायतका पर्यटकिय क्षेत्रको विकास तर्फ पनि आफ्नो काम गर्ने लक्ष्य रहेको र स्थानिय तहसँग मिलेर काम गर्ने बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज विभागका उपसचिव वेदकुमार ढकालले आफूहरुले यहाँका समस्या र यसको निकास निकाल्ने बारेमा विभागमा गई छलफल गर्ने, घेराबेराको लागि गरिने काममा टेण्डर लगाउने वा दुई चार जना कामदारद्वारा गरिने बारेमा समेत छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।
यति बेला सबै घेराबेरा गर्न नसकिने तर सुरु गर्ने निधो गरेर केही काम गर्न सकिने बताउनुभयो । आरक्षको जनावरलाई केही नियन्त्रण गर्नेमा विभागको पहल सक्रिय रहने र बालीको राहतमा कुनमा कति दिने भन्दा पनि कुन जनावरले गरेको हो त्यसको आधारमा दिने प्रावधान रहेको बताउनुभयो ।
वनपैदावारमा त्यहाँको गिट्टि ,बालुवा, माटोलाई वार्डेनले पनि दिन नसक्ने आम्दानीको वा राजश्व संकल गर्ने उदेश्यले पनि निकासी गर्न दिन नसकिने यसको विभागबाटै सिफारिस आउनुपर्ने हुन्छ ढकालले भन्नुभयो ।
सो कार्यक्रममा विभागका उपसचिव किसोर मेहता, लेखा अधिकृत कैलाश कुमार चौहान, कञ्चनरुप नगरपालिकाका उपप्रमुख निरु पोखरेल , सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरी, मध्यवर्ती उपभोक्ता समितिका बच्चुलाल चौधरी, वडा अध्यक्षहरु, प्रेस सल्लाहकार उत्तम आचार्य , कञ्चन सञ्चार समूहका अध्यक्ष डम्बर राई लगायतका व्यक्तिहरुले आरक्षबाट आउने जनावरहरुबाट हुने क्षतिका बारेमा विभागिय टोलिलाई जानकारी गराउनु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page