समाज

सप्तरीका प्रजिअ आचार्यद्वारा अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान

कञ्चनरुप (सप्तरी) , साउन २७ गते । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज (बुधवार) अपाङ्गता भएका एक व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका ४ का शैलेन्द्र कुमार मण्डलका १९ वर्षीय छोरा प्रल्हाद मण्डल शारीरिक रुपमा पूर्ण अशक्त छन् । उनी जिल्ला प्रशासन कार्यालय पुग्ने अवस्थामा छैन । यो कुरा थाहा पाएपछि प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

पूर्ण अशक्त १९ वर्षीय मण्डल हिड्न सक्दैनन् । उमेर पुगेपछि राज्यको सेवासुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कर्मचारीसहित घरमै पुगेर नागरिकता दिएको प्रजिअ आचार्यले बताउनु भएको छ ।
उनलाई सप्तरी युथ नेपालले फलफूल खानका लागि ५ हजार सहयोग गर्ने प्रतिबद्धता गरेको सप्तरी युथका कोषाध्यक्ष विष्णु यादवले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीका उपरीक्षक राजु श्रेष्ठ , सप्तरी युथ नेपाल, तोपा युथ, वडा अध्यक्ष र सञ्चारकर्मीहरुको उपस्थितिमा नागरीकता प्रदान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page