समाज

सप्तरीमा मंगलवार एकै दिन दुई बालबालिका सहित तीन जनाको पानीमा डुबेर मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी) । सप्तरीमा मंगलवार एकै दिन दुई बालबालिका सहित तीन जनाको पानीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाकी १२ वर्षीया सबना खातुनको नहरमा डुबेर मृत्यु भएको छ ।
घर नजिकैको नहरमा कपडा धुने क्रममा पानीमा डुबेकी थिइन् । त्यही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
त्यस्तै खडक नगरपालिका ८ मुसहरिनयाँका राजेशकुमार चौधरीकी तीन वर्षीया छोरी एलिजा कुमारी चौधरीको घरनजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबिरहेको अवस्थामा देखेर निकालेर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
त्यसैगरी महादेवा गाउँपालिका ४ परसाही टोलकी एक ३० वर्षीया लक्षणकुमारी सदाको पोखरीमा लडेर मृत्यु भएको छ । सार्वजनिक पोखरीमा भाडा माझ्न गएकी सदा पानीमा अचानक लड्दा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page