समाज

सप्तरी प्रहरीद्वारा फरार सूचीमा रहेका दुई जना अभियुक्तलाई पक्राउ गरी जेल चलान

कञ्चनरुप (सप्तरी), ३ फाल्गुन । सप्तरी प्रहरीले फरार सूचीमा रहेका दुई जना अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ। प्रहरीले बोक्सीको आरोप लगाएर फरार रहेका र सवारी ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको हो।
२०६६ वैशाख ६ गते कथित बोक्सीको आरोप लगाउदैँ कुटपिट गर्ने अभियुक्त सप्तरीको राजगढ गाउँपालिका–२ का रामबिलास यादव १२ वर्षपछि पक्राउ परेका हुन्। खोजतलासको क्रममा यादवलाई उनकै गाउँघरमा फेला पारी पक्राउ गरिएको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए।
सप्तरी प्रहरीका अनुसार राजगढ गाउँपालिका–२ की ४० वर्षीया सरस्वतीदेवी खंगको उजुरीमा कथित बोक्सीको आरोप लगाउने अभियुक्त यादवलाई सप्तरी जिल्ला अदालतले २०६७ माघ १८ गते ३ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवाना ठहर हुने फैसला गरेको थियो।
त्यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका अभियुक्त राजविराज नगरपालिका–६ का ३३ वर्षीय ललनकुमार देव समेत पक्राउ परेका छन्।
जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका अभियुक्तलाई खोजतलाशका क्रममा उनकै घरमा फेला पारिएको प्रहरीले जनाएको छ।
अमरेन्द्रकुमार झाको जाहेरीमा सप्तरी जिल्ला अदालतले ०७४ असार ५ गते देवलाई ५ महिना कैद र २ हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको थियो।
पक्राउ परेका दुबै अभियुक्तलाई सप्तरी जिल्ला अदालतको आदेशअनुसार कैद भुक्तानको लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page