राष्ट्रिय समाचार

देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ भित्र प्रमाणसहित उजुरी दिन आग्रह

काठमाडौँ, २८ साउन । गृह मन्त्रालयले मिटरब्याजबाट पीडित भएकाहरुलाई भदौ ५ गतेभित्र आ–आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ ।
सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो ।
काठमाडौँस्थित माइतीघरमा नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले सूचना जारी गर्दै आग्रह गरेको हो।
यस्तो छ सूचना :-
मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको विचल्ली भएका समाचारहरू सार्वजनिक भैरहेका छन्‌। त्यस्ता आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ।
मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्रीज्यू गम्भीरतापूर्वक पहलकदमी लिई मिति २०७९।०४।२७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भै सकेको छ। कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिूसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता समेत गरिसकेको छ।
यो समस्या नवलपरासीमा मात्र नभै तराईका अधिकांश जिल्लाहरूमा रहेको गुनासो प्राप्त भएको भएतापनि देशैभरी मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता
मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा मिति २०७९०५।०५ भित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page