स्वास्थ्य

राजविराजमा महिलाहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण

राजविराज, १९ मङ्सिर । सप्तरीको राजविराजमा आज महिलाहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरेर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा अधिकारकर्मीहरुले निःशुल्क स्यानिटरी प्याड वितरण गरेर स्वयम्सेवक दिवस मनाएका हुन् ।
‘स्वयंसेवामार्फत ऐक्यबद्धता’ नाराका साथ बाटो हिंडने महिला र किशोरीहरुलाई प्याडको प्रयोग र उपयोगिताबारे जानकारी दिदै अधिकारकर्मीहरुले लैङ्गिक हिंसा नगर्न र नसहन अपील गरे । गजेन्द्रनारायण सिंह अस्पतालबाट उपलब्ध एक सय २० पोका र ग्रिन नेपालबाट उपलब्ध ८४ पोका स्यानिटरी प्याड निःशुल्क वितरण गरिएको ग्रिन नेपालका कोषाध्यक्ष दिपक दासले जानकारी दिनुभयो ।

स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्न र महिनाबारी सम्बन्धमा रहेको गहिरो अन्धबिस्वास, डर र मौनतालाई तोडन सडकपेटीमा बसेर स्यानिटरी प्याड वितरण गरिएको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताउनु भयो ।
महिनाबारीसंग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुव्र्यबहार वा हिंसा गर्न नहुने र मर्यादापुर्बक जिउन पाउनु पर्नेमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले जोड दिनुभयो । महिनाबारीले हाम्रो वरपर भएका मिथ्या, भ्रम, कुसस्कारलाई फोर्दै, चिर्दै सशक्तिकरण गर्न स्यानिटरी प्याड वितरण गरिएको ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडाले बताउनु भयो ।

विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एक अर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन दिवसले विश्वभरका स्वयंसेवकहरूलाई आव्हान गरेको मिलाफकी अध्यक्ष रमिला साहले बताउनु भयो । सेवा नै धर्म हो अनि स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय रहेको लायन्स क्लबका डिस्ट्रिक गर्भनर शंकर शारदाले बताउनु भयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राजविराज नगरपालिकाकी अनिता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्मा, सहसचिव धिरेन्द्र दास, महिला मानव अधिकार रक्षक सञ्जालकी पुनम पोखरेल, प्रिया सिंह थारु, आसमान नेपालकी शान्ता सिंह, हेल्प मधेशका अध्यक्ष प्रमोद शर्मा, पत्रकारहरु बृजमान तामाङ, रामनाथ यादव, पंकज साहलगायतको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page