समाचार

मानव अधिकार रक्षकहरूको भूमिकालाई उत्तरदायी बनाउनु पर्नेमा जोड

राजविराज, २२ मङ्सिर । राजविराजमा बिहीबार आयोजित एक कार्यक्रमका वक्ताहरूले ज्यान जोखिममा राखेर अधिकारका पक्षमा काम गर्दै आइरहेका मानव अधिकार रक्षकहरूको भूमिकालाई सबल, उत्तरदायी, संगठित र पारदर्शी बनाउनु पर्नेमा जोड दिएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र मानव अधिकार रक्षक दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले मानवअधिकार रक्षकहरूको हक, हित र संरक्षणका लागि उनीहरूको भूमिकालाई उत्तरदायी बनाउनु पर्नेमा जोड दिएका हुन् ।
मानव अधिकारको सम्मानका लागि कानुनी शासन तथा मानव अधिकारमैत्री संस्कृति निर्माण गर्न जरुरी रहेको भन्नुहुँदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले नेपाल सरकारको मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी कार्यान्वयन गर्न माँग गर्नुभयो । मानवअधिकार रक्षकहरूको संरक्षण चुनौतीपूर्ण बन्दै गएको परिप्रेक्ष्यमा प्रदेश तथा स्थानीय तहसम्म संयन्त्र निर्माणका साथै प्रभावकारी अनुगमनको खाँचो रहेको उहाँले बताउनु भयो ।

सप्तरी जिल्ला बार एकाईका अध्यक्ष रामप्रसाद चौधरीले जोखिममा रहेका मानव अधिकार रक्षकहरूवाट वा अन्यत्रबाट प्राप्त सुचनाका आधारमा जोखिममा रहेका मानव अधिकार रक्षकहरूको उद्धार, उपचार र पुनस्र्थापनाका लागि आवश्यक सहजिकरण, सहयोग एवं न्यायका लागि सबैतिरबाट पैरवी हुनुपर्ने बताउनु भयो । बार एकाईका निवर्तमान अध्यक्ष डोमन साहले मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान र सम्मान तथा जोखिम व्यवस्थापन नीति बनाउनु पर्ने बताउनु भयो ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले मानव अधिकार रक्षकहरूले उच्च आत्मबलका साथ काम गर्ने वातावरणको माँग गर्नुभयो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले रक्षकहरूको सुरक्षा, पहिचान र सम्मानलाई अभिवृद्धी गर्नुपर्ने बताउनु भयो ।

साथ साथ सिकाईका मधेस प्रदेश अध्यक्ष रेणु कर्णले जोखिममा रहेका मानव अधिकार रक्षकहरूको तत्काल उद्धार, उपचार र पुनस्र्थापनाका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताउनु भयो । राजविराज नगरपालिका कार्यपालिका सदस्य ललिता कर्णले अन्याय र अत्याचारको विरूद्धमा लड्ने मानव अधिकार रक्षकहरूलाई राज्यले विशेष कानुन बनाएर उनीहरूको अधिकार रक्षा गर्नुपर्ने बताउनु भयो ।
साथसाथ सिकाई सञ्जाल सप्तरीका अध्यक्ष कविता जयसवालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सदस्य जानकी यादव, अधिवक्ता दानो चौधरी, प्रहरी निरीक्षक नविन थापा, महिला, बालबालिका र जेष्ठ नागरिक शाखा राजविराजकी प्रमुख अनीता चौधरी, प्याब्सनका सचिव संजय शर्मा, मानव अधिकार रक्षक सञ्जालकी सचिव माधवी शाह, मनोविमर्शकर्ता रन्जना चौधरी, कोक्यापका शत्रुघ्न महतो, पत्रकारहरु बृजमान तामाङ, पिन्टु यादवलगायत पत्रकार, शिक्षक, यौनिक अल्पसंख्यक, मानव अधिकार रक्षकहरूको सहभागिता रहेको थियो ।
साथ साथ सिकाई सञ्जालकी पुनम पोखरेलद्वारा सञ्चालित कार्यक्रममा कोक्यापकी प्रदेश सदस्य बिन्दा पासवानले स्वागत मन्तव्य राख्नु भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page