राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकारहरुलाई समाचार संकलनमा अवरोध पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले एक विज्ञप्ति जारि गर्दै घटनाप्रति खेद व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार संकलनमा अबरोध गर्ने प्रहरी रबैयाको घोर निन्दा गरेको हो ।
जारि विज्ञप्तिमा जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एक जना प्रहरी निरीक्षकबाट कुटपिट भएको खबर संकलनका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारलाई सूचना संकलनमा अवरोध पु¥याएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “महासंघका उपाध्यक्ष वैद्यनाथ यादव नेतृत्वको पत्रकारहरुको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ । समाजलाई सु–सुचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु भएको स्वतन्त्र प्रेसमाथि हस्तक्षेप भएको हाम्रो ठहर छ ।”
नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको भए पनि सप्तरी प्रहरीको यस्तो कदमले संविधानको समेत ठाडो उल्लघंन गरेको भन्दै आगामी दिनमा पनि यस्ता कदम नसच्चाए प्रहरी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पूर्ण प्रेसमैत्री भएको भनिरहने सप्तरी प्रहरीको यो रबैयालाई सहज रुपमा लिन नसक्ने र यो घटनाप्रति नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ । साथै आगामी दिनमा समेत यस्ता कदम नसच्याए प्रहरी विरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी निरीक्षक नवीन थापाले जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवलाई कार्यालय परिसर भित्र निर्घात कुटपिट गरि अभद्र व्यवाहर गरेका थिए ।
















Add Comment