धर्म संस्कृति राष्ट्रिय

आज हरिबोधनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै

सप्तरी, ७ मंसिर । आज (बिहीबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी ।
औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ।
वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ ।
क्षीर सागरमा चार महिलनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परम्परा छ ।

आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ ।
भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् ।
चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।
यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page