समाचार

नेपाल पूर्वप्रहरी संगठनको प्रहरी महानिरीक्षकलाई ६ बुँदे ज्ञापनपत्र

कञ्चनरुप, २४ फागुन । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषप्रति असन्तुष्टि जनाउँदै प्रहरी महानिरीक्षकलाई ज्ञापन पत्र बुझाएको छ ।
पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमा पूर्वप्रहरीहरूको ६० प्रतिशत भन्दा बढी योगदान हुँदाहँदै पनि पूर्व प्रहरीहरूको कल्याणमा न्यून रकम जम्मा भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मार्फत विभिन्न ६ बुँदे ज्ञापन–पत्र प्रहरी महानिरीक्षकलाई पठाएको हो ।
नेपाल पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष शिव नारायण सिंहको नेतृत्वमा बिहिवार जिल्ला प्रहरी कार्यालय सप्तरी मार्फत महानिरीक्षक कुँवरलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापन–पत्र बुझ्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले संगठनको मागहरु प्रहरी प्रधान कार्यालयमा पठाउने बताउनुभयो ।
कोषमा हालसम्म १७ अर्ब रुपैयाँको बैंक, नगद र सम्पत्ती हुनुपर्नेमा हाल नगद ४ अर्ब र सम्पत्ती ५ अर्ब मात्र देखिएकाले ८ अर्ब अनियमिता भएको भन्दै पूर्वप्रहरी संगठनले छानविनको माग गरेको हो । संगठनले ३५ दिन भित्र माग पुरा नभए देशव्यापीरुपमा कानुनी उपचार सहित आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

संगठनले २०४९ सालदेखि २०६९ सालसम्मको प्रहरी कल्याणकोषको आय–व्ययको हिसाव–किताब गर्न एक स्वतन्त्र छानविन समिति गठन गर्नु पर्ने मागसमेत गरेको छ । कल्याणकोषको मुलधन वा व्याजको आधारमा ४० प्रतिशत बहालवाला, ४० प्रतिशत पूर्वप्रहरी र २० प्रतिशत आयमुलक कार्यमा खर्च गर्ने नितीगत व्यवस्था गर्नुपर्ने माग संगठनले गरेको छ ।
प्रहरी कल्याणकोषको सञ्चालक समितिमा ४० प्रतिशत प्रतिनिधित्व पूर्वप्रहरी संगठन वा प्रहरीबाट हुनुपर्ने, बहालवाला प्रहरीको काम शान्ति सुरक्षा दिने भएकाले व्यापार नगरी कल्याणकोषबाट गरिने व्यापारिक कार्यहरु पुर्वप्रहरी संगठनलाई दिनु पर्ने माग राखेको छ । प्रहरी कल्याणकोषको समन्वय तथा योजना गर्न प्रहरी प्रधान कार्यालयमा कोषको कार्यालयसहित दुई जना पुर्व प्रहरी र सबै प्रदेश कार्यालयमा एक÷एक जना पुर्व प्रहरीहरु राखी योग्यता अनुसारको सेवा सुविधा सहित कार्यालय सञ्चालन गर्ने र निजहरुलाई सहयोग गर्न पुर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नुपर्ने माग संगठनले गरेको छ ।

प्रहरीका अमर सहिद परिवारका सन्ततीको लागि १० प्रतिशत, प्रहरी परिचरदेखि वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मका पूर्वप्रहरीहरुको सन्ततीहरुलाई ५ प्रतिशत नयाँ भर्ना कोटा प्रदान गर्न समेत संगठनले भनेको छ । “प्रहरी कल्याण कोषको न्यायोचित वितरण गर’’ भन्ने नारा सहित पूर्वप्रहरी संगठनले देशव्यापी आन्दोलन र विरोध कार्यक्रम अघि बढाएको हो ।

   

You cannot copy content of this page