मधेस प्रदेश समाचार

चार महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरका शिक्षकहरू धर्नामा

रवि शर्मा /
हनुमाननगर (सप्तरी) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – नगरपालिकाका शिक्षक-कर्मचारीहरूले चार महिनादेखि तलब नपाएको र चाडपर्व खर्चको एक महिनाको बक्यौता बाँकी रहेको भन्दै शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्। 
आफूहरूले लामो समयदेखि यस्तो समस्या भोग्दै आएको र सम्बन्धित निकायले कुनै ठोस कदम नचालेको गुनासो उनीहरूले गरेका छन्।
उनीहरूले यसअघि पनि विभिन्न माध्यमबाट नगरपालिकालाई आफ्नो समस्या बारे अवगत गराउँदै ज्ञापनपत्र बुझाएका थिए। तर, नगरपालिकाबाट भने कुनै प्रतिक्रिया नआएको भन्दै शिक्षक-शिक्षिकाहरूले निराशा व्यक्त गरेका छन्। “शिक्षण क्षेत्रलाई सम्मानजनक बनाउन हाम्रो नियमित पारिश्रमिक र अन्य सुविधाहरू उपलब्ध गराउनु आवश्यक छ,” एक शिक्षकले भने, “हाम्रो परिवारको आर्थिक स्थिति यसले प्रत्यक्ष रूपमा प्रभावित पारेको छ।”
धर्नामा उपस्थित शिक्षक-शिक्षिकाहरूले नगरपालिका प्रशासनलाई तत्काल समस्याको समाधान गर्न र बक्यौता तलब तथा चाडपर्व खर्च उपलब्ध गराउन माग गरेका छन्। शिक्षकहरूले यो समस्या लामो समयसम्म रहिरहेमा थप आन्दोलनका कार्यक्रमहरूको समेत घोषणा गर्न सक्ने चेतावनी दिएका छन्।

   

You cannot copy content of this page