कञ्चनरूप । सप्तरीको बोदेबर्साइन नगरपालिकाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (Brown Sugar) सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कडरबोना र प्रहरी चौकी देउरीबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ८ पोखरिया बस्ने ३६ वर्षीय त्रिलोकी चौधरी र सोही ठाउँको वडा नम्बर ७ भँगाहा टोल बस्ने ३२ वर्षीय सन्तलाल दास रहेका छन्।
प्रहरीका अनुसार गत असार ५ गते बेलुका अन्दाजी ७ बजेको समयमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ९ स्वर्णपट्टीस्थित नेपाल-भारत सीमा आवतजावत गर्ने सडक खण्डमा चेकजाँच भइरहेको थियो। भारतबाट नेपालतर्फ आउँदै गरेको स ७ प ८५२३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकललाई रोकी सोधपुछ तथा खानतलासी गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद भएको हो।
मोटरसाइकलको पछाडि सवार सन्तलाल दासले लगाएको हाफ पाइन्टको खल्तीभित्र प्लास्टिकको सानो प्याकेटमा लुकाइछिपाइ राखेको अवस्थामा खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो। डिजिटल तौल मेसिनमा जोख्दा बट्टाबाहेक ३१ ग्राम ९१० मिलिग्राम (बट्टासहित ५७ ग्राम ६२० मिलिग्राम) लागूऔषध प्रमाणित भएको प्रहरीले जनाएको छ।
त्यस्तै प्रहरीले अभियुक्तहरूको साथबाट लागूऔषधका साथै ओप्पो र भिभो कम्पनीका २ थान स्क्रिन टच मोबाइल र नेपाली रुपैयाँ ७,३५० (सात हजार तीन सय पचास) नगद समेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (DSP) हेमराज घिमिरेका अनुसार पक्राउ परेका दुवै जना, मोटरसाइकल र बरामद सामानहरूलाई नियन्त्रणमा लिई उनीहरूलाई जिल्ला अदालत सप्तरीबाट ३ (तीन) दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कडरबोनामार्फत विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











