कञ्चनरूप, १५ असार । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामानसहित एक मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार साँझ करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले बोदेबरसाइन नगरपालिका–५ स्थित धत्रुधन चोकमा गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको स ५ प ६१४८ नम्बरको होन्डा ग्लाडियटर १२५ सीसी मोटरसाइकल फेला पारेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालक सवारी साधन त्यहीँ छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले मोटरसाइकलमा लोड गरिएको बोरा खोली जाँच गर्दा विभिन्न प्रकारका भन्सार छलीका किराना सामान बरामद भएको जनाएको छ।
बरामद गरिएको मोटरसाइकल तथा किराना सामानको अनुमानित मूल्य १ लाख ४७ हजार ७ सय ७० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान तथा मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि राजविराज भन्सार कार्यालय, तिलाठी, सप्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
घटनामा संलग्न फरार व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













