कञ्चनरूप, १५ असार। पत्रकारितालाई विश्वसनीय, मर्यादित र उत्तरदायी बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको वक्ताहरूले बताएका छन्।
मधेस प्रदेश मिडिया काउन्सिलद्वारा सोमबार सप्तरीको कञ्चनरूपमा आयोजित ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैलीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम’ मा सहभागी वक्ताहरूले पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिता र तथ्यमा आधारित समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन्।
मिडिया काउन्सिल मधेस प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका पूर्व गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी प्रमुख अतिथि थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री लेखीले संघीय शासन व्यवस्था नेपालको संविधान २०७२ को मूल आधार भएकाले यसलाई कमजोर बनाउने वा खारेज गर्ने प्रयास संविधानमाथिको प्रहार हुने टिप्पणी गरे। उनले मुलुकको विकास, समावेशिता र समृद्धिका लागि संघीय शासन प्रणाली अपरिहार्य रहेको उल्लेख गर्दै संघीयतालाई अधिकारविहीन बनाउने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे।

सरकारले सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गरेको आरोप लगाउँदै उनले स्वतन्त्र पत्रकारितामाथिको कुनै पनि हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए। परिवर्तनका आन्दोलनमा पत्रकारको ऐतिहासिक योगदान स्मरण गर्दै उनले लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणमा पत्रकारहरूले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय पत्रकारितामा देखिएका विकृति र अपुष्ट सूचनाको प्रवृत्तिले समग्र सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको बताए। उनले समाचार संकलन, तथ्य परीक्षण र सम्प्रेषणमा पत्रकारहरूले व्यावसायिक मापदण्ड तथा पत्रकारिताको मूल सिद्धान्तलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए।
पत्रकार आचारसंहिता सिकाउनेभन्दा पनि स्वयं पत्रकारले व्यवहारमा लागू गर्नुपर्ने विषय भएको उल्लेख गर्दै उनले मर्यादित, जिम्मेवार र जनविश्वास आर्जन गर्ने पत्रकारिताका लागि आचारसंहिताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष अम्बिका दाहाल, लोक सञ्चार तथा चलचित्र बोर्ड मधेस प्रदेशका अध्यक्ष किशोरकुमार लेखी तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवले पनि पत्रकारिताको गुणस्तर अभिवृद्धि, भाषाशैलीको शुद्ध प्रयोग र व्यावसायिक पत्रकारिताको विकासबारे धारणा राखेका थिए।
अभिमुखीकरण कार्यक्रममा जिल्लामा कार्यरत राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो।













